


जनार्दन पोखरेल/उज्यालो । महोत्तरी मंसिर १२ महोत्तरीको बर्दिबास ९ का ३२ वर्षका गणेश श्रेष्ठ झट्ट हेर्दा सुन्दर र आकर्षक देखिनुहुन्छ । मिलेको जिउडाल, सलक्क परेका बलिया हातगोडा र मिठो बोली छ उहाँको । श्रवण र स्मरण शक्ति पनि राम्रो छ । तर दुर्भाग्य उहाँको आँखाले संसार देख्दैन ।
बैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा एउटै कम्पनीमा काम गर्ने कास्की लामाचौर ६ का साथी सन्तोष सुनारको आक्रमणमा परेर १५ महिनाअघि उहाँले दुवै आँखाको दृष्टि गुमाउनु भएको हो । आइए पास गरेका गणेशलाई लाउँलाउँ खाउँखाउँको यूवा उमेरमै आँखाको ज्योति गुमाउँदाको पीडा मनभरी छ । ७२ बर्षकी आमा खड्गमाया, बुबा कुलबहादुर, उमेरदार पत्नी रीता र ६ बर्षको छोरो रोहनलाई राम्रोसँग खान लाउन दिने सपना बोकेर साढे तीन बर्ष अघि विदेश गएका गणेश अहिले आफन्तहरुकै सहारामा बाँच्नु पर्ने अवस्थामा पुग्नु भएको छ ।
‘काम गर्ने क्रममा मैले विदेशी भूमिमा दृष्टि गुमाएँ, तर मेरो गुमेको दृष्टिको क्षतिपूर्ति नपाउने भए हजुर ।’ आफूसँग बोल्ने सबैसँग उहाँ कतारी कम्पनीबाट अहिलेसम्म पनि एक सुको क्षतिपूर्ति नपाएको गुनासो गर्नुुहुन्छ । गाउँकै एजेन्ट ज्ञानबहादुर कटुवालले षड्यन्त्रपूर्वक आफ्ना सबै कागज पत्र लिएको र उसले धोका दिएका कारण क्षतिपूर्ति हात नलागेको गणेशको बुझाई छ ।
सामान्य निहुँमा साथीले फुटाई दिए आँखा
कतारको राजधानी दोहामा रहेको मेट्रो पावर इन्टरप्राइजेज कम्पनीमा काम गर्ने क्रममा सन् २०१३ सेप्टेम्बर १३ मा उहाँको जीवनमा सबैभन्दा ठूलो बज्रपात पर्यो । कम्पनीमा सँगै काम गर्ने कास्की लामाचौरका सन्तोष सुनारले खानेपानीको विषयमा भएको सामान्य निहुँमा गणेश निदाएको मौकामा फलामे पाइपले आक्रमण गरेका थिए ।
‘मरुभूमिको ठाउँ खानेपानीको अभाव थियो, ट्यांकरले कहिलेकाहीं पानी ल्याउँथ्यो । कम्पनीमा काम गर्ने हामी सबै मजदुर लाम लागेर खाने पानी थाप्थ्यौं । तर सन्तोष कहिल्यै लाम लाग्दैनथ्यो । अरु भन्दा पछि आए पनि उ सबैलाई थर्काउँदै पालो मिचेर पानी भर्न अगाडी पुग्थ्यो । मैले एक दिन उसको यो हर्कत रोक्न खोज्नु नै मेरो जीवनकै लागि सबैभन्दा ठूलो दुर्भाग्य बन्यो ।’ गणेशले भन्नुभयो । सन्तोषसँग विवाद भएको तीन दिनपछि क्याम्पमा दिउँसोको खाना खाएर थकाई मार्न सुतेको बेला आफूमाथि आक्रमण भएको गणेश बताउनुहुन्छ । ‘म निदाएको थिएँ, त्यहि मौकामा उसले मलाई स्काई फोल्डिङ्को तीन हात लामो पाईपले अनुहारमा प्रहार गर्दा मेरो यस्तो अबस्था भयो ।’ गणेशले भन्नुभयो । कम्पनीका साथीहरुले उपचारको लागि अस्पताल लगेको तीन दिनपछि मात्र आफ्नो होस फर्किएको गणेश सुनाउनहुन्छ ।
‘उपचारपछि होस फर्किए पनि मेरो आँखाको दृष्टि भने सधैंको लागि गुम्यो हजुर ।’ गणेशले रुँदै भन्नुभयो, ‘कतारी अस्पताल, दिल्लीको अल इण्डिया अस्पताल र काठमाडौंको तिल गंगा आँखा अस्पतालमा उपचारको लागि गएँ, तर डाक्टरहरुले अब जहाँ गए पनि तेरो दृष्टि फर्कंदैन भनेका छन् । मलाई के दिन के रात सधैं उस्तै छ ।’
गणेशलाई आक्रमण गर्ने कास्कीका सन्तोष सुनार यतिबेला कतारको जेलमा छन् । कतारमा उपचारपछि सन् २०१३ डिसेम्बर १३ मा नेपाल फर्किएका गणेशलाई काम गरेको ज्याला बापत उहाँले पाउँने सबै रकम कम्पनीले उतीबेलै दिएको थियो । तर दृष्टि गुमेको क्षतिपूर्ति बापत कम्पनीले दिने रकम भने उहाँले अझै पाउनु भएको छैन । ‘मैले विश्वास गरेको गाउँकै ज्ञानबहादुर कटुवालले मलाई धोका दिए ।’ गणेशले भन्नुभयो ‘अहिले उनले मेरो फोन पनि उठाउँदैनन् ।’ तिमी आँखा देख्दैनौं, क्षतिपूर्तिको लागि सबै पहल म गर्छु भनेर ज्ञानबहादुरले कागजपत्र लिएको र अहिले सम्पर्क बिहिन भएको गणेश बताउनुहुनछ ।
‘सबै कागजपत्र मलाई दिएर तिमी घर जाउँ, रकम निकासा भएपछि पठाई दिउँला’ कटुवालले दिएको आश्वासन गणेशले सम्झनुभयो । कटुवालको आश्वासन अनुसार नै कम्पनीको सम्झौता पत्र, प्रहरी र डाक्टरी रिपोर्ट, जीवन विमाको पत्र लगायतका सबै कागजात कटुवाललाई बुझाएर आफू नेपाल फर्किएको गणेश सुनाउनुहुन्छ । ‘मैले एक पटक कतारमा रहेको नेपाली दुतावासमा जाउँ भन्दा पनि कटुवालले मानेनन्, उनले मेरा कागजातको फोटोकपी पनि दिएनन् ।’ गणेशले भन्नुभयो ।
घर आएको एकबर्ष वित्दा समेत क्षतिपूर्ति बापतको रकम पठाउनु त परै जावस् कटुवाल सम्पर्कमा समेत नआएको गणेशकी श्रीमती रीताको भनाई छ । ‘क्षतिपूर्तिको लागि राजनीतिक दलका नेतादेखि वैदेशिक रोजगार वोर्ड, मन्त्रालय, श्रम विभाग सबैतिर धायौं, तर आश्वासन बाहेक अहिलेसम्म केही पाएका छैनौं ।’ जीवन गुजाराको लागि बर्दिबासको फुटपाथमा फलफुल बेच्दै गरेकी रीताले गुनासो गर्नुभयो ‘क्षतिपूर्तिको माग गर्दै सरकारी निकायमा जाँदा कागज पत्र खोज्छन्, सबै कागजपत्र एजेन्ट कटुवालले राखेको छ, म के देखाउँ हजुर ?’ गणेशले भन्नुभयो ।
कटुवाल सम्पर्क विहिन भएपछि गणेशले दिएको निवेदनको आधारमा केही महिनाअघि इलाका प्रहरी कार्यालय बर्दिबासले कटुवालकी श्रीमतीलाई पक्राउ गरेपनि पछि छाडेको गणेश बताउनुहुन्छ । ‘हामी बनीबुतो गरेर खाने निमुखा, हाम्रा कुरा कसैले सुनेनन्, हामीलाई न्याय दिनुपर्यो ।’ गणेशकी ७२ बर्षिया आमा खड्गमायाले भन्नुभयो ‘हामी त अब धेरै बाँच्दैनौं होला, तर न्याय पाएन भने यो गणेशको विजोग हुन्छ बाबु ।’
- See more at: http://ujyaaloonline.com/desh-paradesh/story/38445/ganesh-shrestha/#sthash.5XtH184X.oYbwAfRn.dpuf