बाटो निर्माण सुचारु
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी महोत्तरी जिल्लाको सिमानाका हुँदै जनकपुर पुग्नुहुने ईच्छा व्यक्त गरेअनुरुप भिठामोड जनकपुर सडकखण्डको स्तरोन्नती कार्य सुचारु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी मंसिर ९ गते सार्कको शिखर सम्मेलनमा भाग लिन महोत्तरीको सिमानाका हुँदै जनकपुर पुग्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी मंसिर ९ गते जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरी हवाईमार्गबाट काठमाण्डौ जानुहुने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री भारत विहारको राजधानी पटनाबाट सितामढी हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको छ ।
जिल्ला प्रवेशको सिमानाका भिठामोड हुँदै जनकपुरसम्मको १९ किलोमिटर सडक पूर्णतः क्षतिग्रस्त अवस्थामा रहेको कारणले भारतीय प्रधानमन्त्रीको सडकमार्गबाट आउने सम्भावना न्यून देखिएको अवस्थामा सरकारकै निर्देशनमा सो सडकको स्तरोन्नती कार्य शुरु गरिएको छ ।
जसमा भिठामोडदेखि जनकपुरसम्मको बाटोलाई एकरुपता ल्याई पानी छर्केर धुलो नउडने बनाउन लागिएको सडक डिभिजन कार्यालय मुजेलियाले जनाएको छ । सडक डिभिजन कार्यालयका अनुसार १५ दिनमा सो सडकखण्डमा पिच बन्न असम्भव देखिएकोले स्तरोन्नती कार्यलाई तिव्रता दिइएको हो । अहिलेसम्म भिठामोडदेखि जलेश्वरसम्म स्तरोन्नती कार्य सकिएको छ ।
सडकमार्गबाट सिमानाका हुँदै जनकपुर पुग्नेबाटोमा खाल्डाखाल्डै रहेको, सडकभरी धुलैधुला रहेकोले यसलाई स्तरोन्नती कार्य अगाडी बढाइएको हो ।
यस अघि सडकको अवस्था, सुरक्षा अवस्था लगायतका विषयमा जनकपुरमा भारतीय राजदुत रन्जित रे सहितका टोली र महोत्तरीमा गृहसचिव सुर्य सिलवाल सहितका टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले महोत्तरीको स्थलगत निरिक्षण गरेर टोली गइसकेको र सडकको स्तरोन्नती कार्य शुरु गरिसकिएकोले भारतीय प्रधानमन्त्रीको आउने सम्भावना बढेको बताउनुभयो । तर उहाँले अहिले नै टुङो भने नलागेको बताउनुभयो ।