काठ बरामद भए पनि तस्कर पक्राउ पदैनन् ।
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २३ गते । तस्करहरु खुलेआम सरकारी जंगल फडानी गरे पनि सम्बन्धित निकाय अहिले सम्म कुनै पनि तस्करलाई पक्राउ गर्न सकेको छैन । सम्बन्धित निकायको लापरवाही र उदासिनताको कारण सागरनाथ वन विनाश हुँदै आएका छन् । पटक पटक प्रहरीले काठ पक्राउ गरे पनि तस्कर पक्राउ नपर्नुबाट बन कार्यालय, प्रहरी र तस्करहरु बिच मिलेमतो हुन सक्ने अडकल स्थानीयहरको रहेको छ ।
सोमबार मात्रै इलाका प्रहरी कार्यालय गौशालाले टयाक्टर सहित काठ पक्राउ गरे पनि तस्कर पक्राउ नपरेबाट यो पुष्टि भएको स्रोतले जनाएको छ । बेलगाछी जंगलबाट फडानी गरी ज१त ६४८ नम्बरको टयाक्टरमा लोड गरी भारत तर्फ तस्करी गरिरहेका ३५ क्यू फीट साखुको काठ सहित सो टयाक्टर पक्राउ गरिएको कुरा इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बासुदेव पाठकले बताउनु भयो । प्रहरी गस्ती टोलीलाई हेर्ने वित्तिकै चालक र काठ तस्कर फरार भएका थिए । प्रहरीले बरामद गरेको टयाक्टर र काठ को मूल्य ५ लाख ३५ हजार रुपैया रहेको छ । प्रहरीलाई हेर्ने वित्तिकै तस्कर भाग्ने गरेको समाचार फिंजाइए पनि तस्करसंगको मिलेमतोमा यस्तो हुने गरेको स्रोतले जनाएको छ ।
बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सागरनाथ वन विकास परियोजनामा बुझाइएको छ । यस अघि इलाका प्रहरी कार्यालय गौशालाले ३ वटा टायरगाडामा लोड गरेर राखिएको ३ लाख ५ हजार मूल्य बराबरको १ सय १० क्यू फीट विभिन्न जातका काठ बेलगाछी ८ मा पक्राउ गरेको थियो ।
सरकारी कर्मचारीको सँलग्नतामा काठ तस्करले महोत्तरीको उत्तरी क्षेत्रबाट लाखौं मूल्य बराबरको सालको जंगल फडानी गरी भारत निकासी गर्दै आएका छन् ।
महोत्तरीको माइस्थान, खयरमारा, पाटु, गौरीवास लक्ष्मीनिया गाविस क्षेत्रमा पर्ने सालको सरकारी जंगल फडानी गर्दै आएका काठ तस्करले अहिलेसम्म सयौं रुख कटान गरिसकेका छन् ।
सदरमुकाम जलेश्वर देखि ४०÷५० किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा भइरहेको जंगल फडानीको सूचना सम्बन्धित निकायले पाएको स्रोतले दावी गरे पनि काठ तस्करी र जंगली फडानी नियन्त्रण गर्न तथा त्यसमा संलग्न व्यक्ति पक्राउ गर्न जिल्ला वन कार्यालयले कुनै प्रयास गरेको छैन ।
सदरमुकाम सित सम्बन्धित कार्यालयको निगरानी सो क्षेत्र नपर्ने हुँदा काठ तस्करले लगातार जंगल फडानी गर्दै आएका छन् ।
राष्ट्रिय वनको बढदो विनासका कारण त्यस क्षेत्रका स्थानीयहरुले पटक पटक जंगल फडानीको जानकारी जिल्ला वन कार्यालय बर्दिवासलाई दिने गरेतापनि वन अधिकारीले बेवस्ता गर्ने गरेको स्थानीयहरु स्वंय वताउदै आएका छन् ।