महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २८ गते । महोत्तरी जिल्लाको कञ्चनवनमा शुक्रबार परिक्रमाबासीहरुले रंग, र अबिर खेली होली मनाएका छन् ।
त्रेता युगमा भगवान रामले त्यहाँ होली खेलेको सम्झना स्वरुप परिक्रमाबासीहरु त्यहाँ रंग र अबिर एक आपसमा झयापझयाप गरी होली खेलेका थिए ।
महोत्तरीको अन्तिम तथा परिक्रमाको सातौं पडाव स्थलको रुपमा रहेको कञ्चनवनमा साधु, सन्त, महन्थ, नागा, गृहस्थ लगायत सबैको अनुहार र कपडा रंग र अबिरको कारण रंगीचंगी देखिएको थियो ।
कञ्चनवन पुगी जनकपुर स्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको शुरुवात गर्ने गर्दछन् । वसन्तपञ्चमीदेखि नै फागुको शुरुवात भएको मानिएपनि मिथिलाञ्चलमा कञ्चनवनमा होली खेलेपछि मात्रै शुरु भएको परम्परा रहँदै आएको छ ।
धनुषाको कचुरीस्थित मिथिलाविहारी मठबाट शनिवार निस्केको मिथिलाविहारीको डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर ,करुणा र विसौल, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड हुँदै कञ्चनवन पुगेको हो ।
नेपाल भारत दुवै मुलुकका धार्मिक संस्कृत एवं पारस्परिक सदभावको प्रतिक वनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुइृृ गरी १५ विश्राम स्थलमा रात्रि विश्राम गर्ने गरेका छन् ।
मिथिला महात्मय अनुसार अठारौं सताब्दी देखि माध्यमीकि परिक्रमाको रुपमा मनाईदैं आएको यस धर्मयात्राका सहयात्रिले रात्रि भजन किर्तन गरि १५ दिन विताउने गर्दछन् ।
विश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर , महोत्तरीको मटिहानी ,जलेश्वर,मडै ध्रुवकुण्ड, कञ्चनवन , हुदैं धनुषाको पर्वता धनुषाधाम , सतोषर , औरहीमा एक एक रात विश्राम गरि पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन र पूर्णिमा विहान जनकपुरको अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्मपन्न गरिन्छ ।
सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने विश्वास व्यक्त गर्दै यस धर्म यात्राका यात्रुहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ ।
यात्रामा नेपाल भारतका हजारौं साद्युसन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको छ । माध्यमिकी परिक्रमा यात्रुहरुको सुरक्षा व्यवस्थालाई मध्य नजरराखी व्यपाक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।