आगलागीबाट लाखौंको क्षति

महोत्तरी समाचारदाता
जलेश्वर, चैत १२ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको एक गोदाममा आगलागी हुँदा लाखौं मुल्य बराबरको क्षति भएको छ ।
सदरमुकाम जलेश्वरको वडानं.२ स्थित नरेश साह तेलीको घरमै रहेको चप्पल, जुत्ताको गोदाममा शनिबार दिउँसो १२ बजेतिर आगलागी हुँदा लाखौंको क्षति भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रहरी उपरिक्षक जनकबहादुर बोहराले जानकारी दिनुभयो । घरमै रहेको गोदाममा एक्कासी आगलागी हुँदा त्यत्तिको नोक्सानी भएको बताइएको छ । अहिले सम्म पनि क्षतिको एकिन तथ्याँक आउन सकेको छैन् । आगो लाग्ने वित्तिकै जनपद र सशस्त्र प्रहरीको संयुक्त टोली तथा स्थानीयवासीले आगो माथि नियन्त्रण लिन र सामग्रीहरु फाल्ने काम गरेका थिए । आगो लागेको आधा घण्टा पछि आएको जलेश्वरनगरपालिकाको वारुणयन्त्रले आगोमाथि नियन्त्रण लिएका थिए । आगो माथि नियन्त्रण लिन झण्डै दुई घण्टा लागेको थियो । आगलागीबाट जलेका चप्पल, जुत्ताहरुको थुप्रो हटाउँदै गर्दा कतिपय सशस्त्र तथा जनपद प्रहरीका जवानहरु निसासिएका समेत थिए । उनीहरुलाई बाहिर निकालेर पानी छर्कर्ने गरिएको थियो ।
आगो लाग्नुको कारण नखुले पनि विद्युत सर्किट सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
यस अघि एक हप्ता अगाडी मात्रै महोत्तरीको हतिसर्वाको दलित बस्तीमा आगलागी हुँदा तिनदर्जन घर जलेर नष्ट भएका थिए ।