तिनको मृत्यु, तिन दर्जन भन्दा बढी घाइते
महोेत्तरी समाचारदाता
जलेश्वर, फागुन २७ गते । महोत्तरी जिल्लाको सरपल्लोमा शुक्रबार बस पल्टिदा तिन जनाको मृत्यु भएको छ भने तिन दर्जनभन्दा बढी यात्रु घाइते हुन पुगेका छन् । घाइते मध्ये चारको अवस्था गम्भिर रहेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा डाम्हीमडैं—९ रानीरतवाराका वर्ष ४० का लक्ष्मेश्वर पाण्डे, खैरबन्नी—९ का २७ वर्षिय देवेन्द्र यादव र हलखोरी—८ चकवा बस्ने कमलेश यादव रहेका कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक संजयराज शर्माले वताउनुभयो ।
जलेश्वरबाट बर्दिवास तर्फ गईरहेको ज१ख ५८९ नम्बरको यात्रुवाहक वस विपरित दिशाबाट आइरहेको बसलाई जलेश्वर वर्दिवास सडक खण्डको सरपल्लो ५ मा साइड दिने क्रममा सडकबाट तल खसेको थियो । खस्दा बसले तिन पल्टि खाएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । बस तिनपल्ट पल्टि खाएकै कारण बसको छतमा सवारहरुको मृत्यु भएको वताइन्छ ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये सरपल्लोका चौधरी मण्डल, कोल्हुवा वहेडाका अमलेशकुमारी यादव, कोल्हुवाका मैनुद्धिन खातुन र महादेवपट्टीका शान्तिदेवीको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । गम्भिर भएकाहरुको थप उपचारको लागि अंचल अस्पताल जनकपुर पठाइएको छ भने बाँकीहरुको उपचार जिल्ला अस्पताल जलेश्वर र स्थानीयस्तरमा भइरहेको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा महोत्तरी पिपरा– ९का विन्दा मण्डल, जलेश्वर नगरपालिका–३ बस्ने देवतारा देवी, जलेश्वरनपा– ५ बस्ने सुनिता श्रेष्ठ, जलेश्वरनपा–३ बस्ने सुनिता देवी, पिपरा– ८ बस्ने सन्तोष खत्वे, बारा कलैया–४ बस्ने महम्मद आसीन, जलेश्वरनपा–६ बस्ने ववुनी देवी रहेका छन् । त्यसैगरी रामगोपालपुर–९ बस्ने सराफुल धोवी, सोही ठाउँ बस्ने मैमुन खातुन, सरपल्लो बस्ने सिसावतीदेवी, भारत सुरसण्ड बस्ने शान्तिदेवी पासमान लगायतका रहेका छन् । उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।
बसका चालक फरार रहेका छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ ।
घाइतेहरुलाई जिल्ला प्रहरीकार्यालय महोत्तरी र सिमा सशस्त्र प्रहरी बल जलेश्वरबाट खटिगएको संयुक्त टोलीले उद्धार गरेका थिए ।
स्थानीय व्यक्तिहरुले बस तीव्र गतिमा रहेको कारण सन्तुलन विग्रेर दुर्घटना हुन पुगेको जनाएको छ ।