सामाजिक सदभाव र भाइचाराको पर्व फागु

नागेन्द्रकुमार कर्ण
सामाजिक सौहाद्र्धता, रङ्ग विजय, भाइचाराको पर्व फागु अर्थात होली मिथिलाञ्चलमा विशेष धुमधामका साथ मनाइन्छ । यो पर्व मनोरञ्जनात्मक पर्व भएको कारण यस पर्वमा युवायुवतीको विशेष उपस्थिती हुने गरेका हुन्छ । के बुढाबुढी, के युवायुवती सबैको अनुहार लगायत लगाउने कपडा समेत यो पर्वमा रंगविरंगी हुन्छन् ।
वसन्तको आगमनसंगै शुरु हुने फागु पर्व असत्य माथि सत्यको, आशक्ति माथि अनाशक्तिको, कुविचारमाथि सुविचारको विजयको पर्वको रुपमा मनाइने गरिन्छ । प्रेम र सदभावको पर्वको रुपमा रहेको होलीमा आफ्नो इष्ट, मित्र, हितैषी मात्रै नभई शत्रु,दुश्मन पनि एक हुने गरेको दृष्टान्त पाइन्छ । यो पर्वमा को साथी, को पराइ सबै एक हुन्छ । त्यसैले त यो पर्वमा रंग र अबिर दल्दै भन्ने गर्छ, ‘बुरा न मानो होली हैं’ । होलीमा रहेको रंग र अबिर रंग मात्रै नभई जिवनलाई यसरी नै रंगविरंगी पार्ने संदेश दिइरहेको हुन्छ । यसमा भावात्मक भाव छुपेको हुन्छ ।
उँच निच, जातियता भेदभाव भन्दा पर रहेको यो पर्व रंगमय सबैलाई पारेको हुन्छ । त्यसैकारणले सबैले आ—आफ्नो दुःख, कष्ट, इष्र्या, सबै विर्सेर सबैसंग एकआपसमा मिलेर होलीको रंगमा लिन भएका हुन्छन् । त्यसैले त हिन्दी साहित्यका एक अग्रज भारतेन्दु हरिश्चन्द्रले भनेका छन् ,‘ गले मुझको लगा लो ए दिलदार होलीमें, बुझे दिल की लगी भी तो ए यार होली में...’।
फागुन महिनामा फ्लाशको फुलको रंगमा हावाको झोंका आएर जब ठोक्किन्छ तब त्यसको सुगन्धले मोहिन नहुने शायदै कोही होलान । सो सुगन्धले प्रेमको मिठास फैलाइरहेका हुन्छन् । वसन्तको आगमनसंगै हरेक तर्फ नयाँ पालुवाहरु पलाइरहेका हुन्छन् । वृक्षहरु पनि पुरानो चोला फेर्दे नयाँ चोला फेर्ने तरखरमा हुन्छन् । पुरानो ठाउँमा नयाँको आगमन भैसकेको छ । बसन्तको शुरुवात भइसकेको आवास हुन्छ । वसन्तलाई कामोद्यीपनको द्योतक मानिएकोले यसलाई वसन्तोत्सव समेत मानिएको छ । त्यही भएर त सबैजना आ—आफ्नै मस्तीमा सराबोर भै रहेका छन् । कसैलाई कुनै चिन्ता छैन, न खान, न लाउने न त बच्चाको फ्रिकी न त श्रीमतीको टेंन्सन सबै आफ्नैंमा मग्न छ । त्यही भएर त होली मनोरञ्जनको पर्व बनेको छ । त्यसमा पनि मिथिलाञ्चलमा मालपुवा खानु, होली र जोगिरा गाउनु , आफुभन्दा ठुलासंग आर्शिवाद लिनु, आफु भन्दा सानालाई माया दिनु, घुलो उडाउनु होलीको विशिष्टता नै मानिन्छ । मिथिलाञ्चलमा भगवान पनि होली खेल्ने गरेको दृष्टान्त पाइन्छ । त्यसैले त जोगिरा मार्फत भनिन्छ ,‘ डिमकि डिमकि डमरु बाजय, इसर खेलय फागु...’ ‘किनका हाथ कनक पिचकारी, किनका हाथ अबिर झोरी, रामक हाथ कनक पिचकारी...’ लगायत । त्रेता युगमा भगवान श्रीरामले महोत्तरीको कञ्चनवनमा अर्थात आफ्नो ससुरालीमा होली खेल्नु भएको कथा पाइन्छ । सोही कारणले मिथिलाञ्चलको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा जब महोत्तरीको कञ्चनवन पुग्छन् त्यहा अद्यापि होली खेल्ने चलन रहेको छ ।
मिथिलाञ्चलमा होली तिन दिन सम्म मनाइने गरिन्छ । पहिलो दिन युवाहरु मृदंग, झालि, ढोल, लगायतका वाद्य लिई होरी गित अर्थात जोगिरा गाउँदै निश्चित ठाउँमा होलीका दहन गर्ने गर्दछन् । होलिका दहनलाई सम्मत जलाउनु पनि भनिन्छ । सो खास गरी खर, पुवार(पराल), गोइठा लगायतका हुने गर्दछन् । सोको भोलीपल्ट सम्मत जलाएको खरानी शरिरमा प्रसादको रुपमा लगाइन्छ र मिथिलाञ्चलमा रंगोत्सव पर्व अर्थात फागु मनाइने गरिन्छ र अन्तिम दिन घुरखेल सकि फागु पर्वको समापन गर्ने गरिन्छ ।
होली पर्व शुरुवातको विषयमा धेरै कथाहरु पुराणमा उल्लेख भएको छ । निर्णय सिन्धु र समुच्चयका अनुसार प्रसिद्ध दैत्यराज हिरण्यकशिपुले विष्णुका अनन्य भक्त छोरा प्रहलादलाई मार्न विभिन्न षडयन्त्र गरे पनि उनी सफल भएका थिएनन् । कारण थियो दैत्यराजले आफुभन्दा ठुलो कोही नभएको भन्दै छोरा प्रहलादलाई आफ्नो नाम स्मरण गर्न भन्थ्यो तर प्रहलादले विष्णु नै सबैभन्दा ठुलो भगवान भएको भन्दै उनकै नाम स्मरण गर्न थालेपछि हिरण्यकशिपुले उनलाई मार्ने षडयन्त्र गरेका थिए । तर भगवानको कृपाले उनी सधैं बाँच्न सफल भएका थिए । अन्त्यमा दैत्यराजले आफ्नी बहिनी होलिकालाई जो आगोमा नजल्ने वरदान पाएकी थिइनलाई प्रहलादलाई मार्न लगाए । होलिकाले प्रहलादलाई आगोमा राखेर बसिन तर भगवानको कृपाले प्रहलाद बाँचे तर होलिका त्यसैमा दहन हुन पुगिन । यसरी सोही दिनदेखि होलिका दहन र होली पर्व मनाइने गरिएको जनश्रुति पाइन्छ ।
त्यस्तै भविष्य पुराणमा भगवान कृष्णलाई मार्न कंसले आफ्नी बहिनी पुतनालाई पठाइन । पुतनाले बालक कृष्णलाई विष भएको दुध चुसाउन लगाए । भगवान कृष्णले उनको दुघको साथसाथै उनको प्राण नै चुसेर मारिन । यसरी सोही दिनदेखि होली मनाइने गरेको पाइन्छ । होली पूर्णिमा पछि गोपी अर्थात कृष्णबाट गोपिनीहरु विछुडेपछि तिनीहरु विरहका गीत गाएका कारण अचेल पनि मिथिलाञ्चलमा युवा युवती विरहका गीत गाइरहेको भेटिन्छ । त्यस्तै रामले रावणमाथि विजय प्राप्त गरेर अयोध्या फर्केपछि सोही खुशियालीमा अयोध्यावासीले होली खेलेको थियो । त्यसैले होली सोही दिनदेखि शुरु भएको भनेर मान्ने गरिन्छ ।
यो पर्वमा रंग र अबिर खेल्नाले कफको विनाश हुनुका साथसाथै चिरदाह (सम्मत) बाट निस्केको धुवाँबाट शीतकालमा भएको चर्मरोग लगायत रोगरुपी किटाणु मार्ने गरेको छ । यो पर्वले समाजलाई असत्यबाट सत्य तर्फ डो¥याई समाजलाई एक नयाँ दिशा दिन्छ भने राष्ट्रलाई पनि यो पर्वले कल्याण गर्ने गरेको छ । समग्रमा भन्नुपर्दा यो पर्वले ‘असतो मा सदगमय’ को भुमिकालाई आत्मसात गरेको पाइन्छ ।
एक सिक्काको दुई पाटा झै यो पर्वमा समेत आधुनिकताको नाउँमा नाँनाभातीका विकृति, विसँगतीहरु भित्रिदै गइरहेका छन् । अचेल युवाहरु जथाभावी मद्यमाँस, गाँजा, वियर, भाङ्गको प्रयोग गरी समाजमा आफ्नो इष्टमित्रहरुसंग झै झगडा गर्ने गर्छन । अहिले यो पर्वको विशेषता नै मासु र रक्सी सेवन गरी अश्लिल गीतहरु गाउनु भएको छ । त्यसैगरी पहिला पहिला प्राकृतिक रंग बनाई खेलिने गरिएको थियो तर अहिले रेडिमेड रंगको साथसाथै इनामेल पेन्ट, मैदाको प्रयोग, फोटोकाँपीको टोनर, डिजल, पेट्रोलको प्रयोग समेत भइरहेको छ । यस्ता विकृति विसंगती फैलाउनमा हामी सबै जिम्मेबार रहेका कारण यसलाई हटाउनु हामी सबैको दायित्व हो । मिथिलाञ्चलको विरासतलाई अक्षुण्ण राख्नु र आफ्ना पर्वहरुलाई संरक्षण गर्नु सबैको कर्तव्य हो । तसर्थ हामीले भाइचारामा फुट आउने, शत्रु बढने कार्य नगरी सामाजिक सदभावको रुपमा यो पर्व मनाउनु उचित हुन्छ ।