महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २७ गते ।
सेतो गुराँस बाल विकास सेवा, महोत्तरीले बिहीबार आफ्नै कार्यालयमा ‘जिल्ला प्रारम्भिक बाल विकास कार्यसमितिको बैठक’ गरेको छ । सो बैठकमा जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालय, महिला विकास कार्यालय, पत्रकार, मानवअधिकारवादी, शिक्षक, शिक्षिका लगायत सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
सो बैठक जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकिय अधिकृत अर्जुन प्रसाद शर्माको आतिथ्य र सेतो गुराँसका अध्यक्ष भोला मिश्रको अध्यक्षतामा भएको थियो । बैठकमा सेतो गुराँसका कार्यक्रम अधिकृत नितु मिश्रले सेतो गुराँसले अहिले सम्म गरेका कार्यहरु बारे प्रकाश पार्नुहुदै सेतो गुराँसलाई जिवन्त राख्न पहल गरिदिन आग्रह गर्नुभएको थियो । सेतो गुराँसको कार्यक्रम अवधि यही मार्चको ३१ तारिख सम्म मात्रै रहेको छ ।
कार्यक्रम अधिकृत मिश्रले बैठकमा सेभ द चिल्डे«न जापान र नर्वेको अनुदान तथा जिल्ला शिक्षा कार्यालयको सहयोगमा २०६० सालदेखि सेतो गुराँसले नगरपालिका सहित जिल्लाको ७६ वटा गाविसमा ४३६ वटा बालविकासको कक्षा संचालन गरिसकेको जानकारी दिनुभएको थियो । उहाँले अहिले यो कार्यालय सिमित गाविसमा मात्रै काम गरिरहेको जानकारी दिनुहुदै सरोकारवाला निकायहरुले पहल र सहयोग गर्ने हो भने यो अझ जिवन्त हुन सक्ने वताएकी थिइन । अहिले सेतो गुराँस ३ वटा गाविसको १७ वटा विद्यालयमा बच्चाको गुणस्तरीयको लागि ध्यान दिने गरेको छ ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीले विगतका वर्षहरुमा वालविकास कोटा अन्तर्गत राखेको ५० वटा कोटा वितरण हुन सकेको छैन भने यस वर्ष पनि थप ५० वटा कोटा रहेको छ । सो अवसरमा जिशिअ सिंहले चाँडै नै वालविकास समितिको बैठक बसाएर वितरण गर्नुपर्ने कोटाहरुलाई वितरण गर्ने जानकारी दिनुहुदै आफुले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका फोकल पर्सन ज्ञानेन्द्र यादवले विगतमा जिशिअहरुको फेरवदलको कारण वालविकास तालिमको लागि आएको रकम फ्रिज भएको जानकारी दिनुभएको थियो । उहाँले लोकल एनजीओहरुको कारण कतिपय वालविकास कक्षाहरु नचलेको स्विकार गर्नुहुदै यसतर्फ सरोकारवालाहरुले ध्यान दिनुपर्ने वताउनुहुदै सेतो गुराँसले यस क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सेतो गुराँसका अध्यक्ष भोला मिश्र, नेपाल शिक्षक युनियनका अध्यक्ष विनोदनन्दन झा, मानवअधिकार संरक्षण केन्द्रका अध्यक्ष मदनकुमार झा, महिला विकास अधिकृत मिरा मिश्र, पत्रकार महासंघ महोत्तरी शाखाका सचिव नागेन्द्रकुमार कर्ण, सेतोे गुराँसका लेखा अधिकृत ऐश्वर्यकुमार कर्ण लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यस अवसरमा जिशिअ सिंहले चांडैनै बाल विकास कोटाहरु संचालनमा रहे नरहेको अनुगमन गर्ने र संचालनमा नरहेका कोटालाई आवश्यक कारवाही गर्ने जानकारी दिनुभएको थियो ।